कोरोना संक्रमित तेस्रो व्यक्ति चैत ६ गते नेपाल आएर होटलमा बसेको खुल्यो : मन्त्री ढकाल

काठमाडौं, १२ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको खुल्न आएको छ ।

आज स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संक्रमित व्यक्ति धादिङ निवासी ३२ वर्षका पुरुष रहेको र उनी कतारबाट आएको जानकारी दिनुभएको हो ।

उहाँले जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बुधबार उनमा संक्रमण देखिएको पुष्टि भएको र संक्रमित व्यक्ति काठमाडौँ आएर होटलमा बसेको जानकारी दिनुभयो ।

स्वास्थ्य असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराउँदा संक्रमण देखिएको थियो ।

संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाहरु, होटलका कर्मचारी र अरु सम्भावित व्यक्तिलाई खोजतालस गरी क्वारेन्टाइन र परीक्षणमा लाने मन्त्रालयले तयारी गरेको छ ।

उता, चैत ४ गते फ्रान्सबाट आएकी युवतीमाथि संक्रमण देखिएसँगै सो दिन विमानमा सवार भएकाहरुको खोजी भइरहेको पनि सरकारले जनाएको छ ।