चिकित्सक खोज्दै रातभर भौंतारिए दिदीबहिनी/ज्वरो आएका विरामी लिन मान्दैनन चितवनका अस्पताल

चितवन (राजु सापकोटा/अनिल भट्टराई) –कोरोनाप्रति केन्द्रदेखि स्थानिय सरकार संवेदनशील नभएको पाईएको छ ।आशंका लागेमा सम्र्पक गर्नुभनि सार्वजनिक भएका माध्यमहरु समेत निस्क्रिय देखिएका छन् ।स्वयंम चिकित्सक नै यो मामिलामा गैरजिम्मेवार भएको अधिकांश नागरिकको गुनासो छ । यात्रा इतिहास भएका नागरिकको अस्पताल जाने अधिकार नै कुण्ठित भएको प्रमाण कालिका मिडियाले फेला पारेको छ ।केन्द्र सरकारले जारी गरेको फोन नम्बर र कोरोना अस्थाई अस्पताल भरतपुरले दिएका नम्बर नै प्रतिकृया विहिन भएको प्रमाण हामीसँग सुरक्षित छ ।

अष्ट्रेलिया यात्रा इतिहास भएका र गम्भिर लक्षण देखिएका विरामीलाई नै अस्पतालले हल्का रुपमा लिएको देखिन्छ । आशंका लागेर १० ठाउँ फोन गर्दा पनि कसैले वास्ता नगरेको हामीले गरेको कुराकानीबाट पनि प्रष्ट बुझ्न सकिन्छ ।निरा तामाङले भनिन्……बहिनी (लिला तामाङ) ३ हप्ता अगाडी अष्ट्रेलियाबाट आएकी थिईन । लकडाउनको दोस्रो दिनको दिउँसो ३ बजेबाट बहिनीलाई ज्वरो आउन सुरु भयो । बहिनी हामीसँग थिईन, ज्वाईले लिन आउनुभयो र भोलीपल्ट ज्वाईले फोन गरेर भन्नुभयो, छाती दुखिराछ, श्वास फेर्न पनि गाह्रो भयो भनेर फोन आईसकेपछि मैले एम्बुलेन्सलाई फोन गरेँ ।

५ वटाले आउनै मानेनन, अन्तिममा एउटाले १११५ मा फोन गर्नुस्, ज्वरोको विरामी लिन हामी त्यसै आउन मिल्दैन, तयारी गर्नुपर्छ भन्यो । त्यसपछि सोही अनुसार फोन गर्दा खेरि साझँ ६ बजेपछि मात्रै सेवा मिल्छ भन्ने जवाफ आयो, अनि ६ बजेसम्म कुरियो, त्यसपछि फोन गर्दा उठेन, त्यसपछि हामी एकदमै अताल्लियौं, कसैले पनि वास्तै नगरेपछि भोलीपल्ट म आफैले बहिनीलाई स्कुटरमा लिएर पहिला नारापणी सामुदायिक अस्पताल गएँ, त्यहाँ जाँदा डाक्टर नै छैन भन्ने जवाफ आयो, अनि त्यसपछि पुरानो मेडिकल जाँदा ज्वरोका विरामीको उपचार यहाँ हुदैन भनि फर्काइयो ।

त्यसपछि हामी भरतपुर सरकारी अस्पताल गयौं तर त्यहाँबाट पनि कोराना अस्थाई अस्पताल जान भनियो, त्यसपछि कोराना अस्पतालले चेकजाँच नै नगरिकन नर्मल प्यारा सिटामोल मात्रै दिएर घर लान भन्यो तर मैले बहिनीलाई घर लान सकिनँ र भरतपुर १० कै कोठामा क्वारेन्टाइन बनाएर बस्यौं । बिहिबार राती २ बजे उठेर बहिनीले छाती एकदमै दुख्यो भनेर रुन थालिन् । कोरोना अस्पतालको गेटमा टाँसिएको सबै स्वास्थ्यकर्मीको मोबाईलमा फोन गरें, अधिकांशको नम्बर अफ थियो, घण्टी गएकाहरुले उठाएनन ।पटक पटक प्रयास गर्दा गएराती २ बजेर २९ मिनेट जादाँ एक जना डा. गुरु शाहसँग सम्र्पक भएपछि पुनः कोरोना अस्पताल लगेँ ।

त्यहाँ पनि ग्याष्ट्रिकको सामान्य औषधी दिएर घर जान भनियो, तर परिक्षण नगरिकन मनले मानेन, औषधी खाँदा निको हुने नखादाँ ज्वरो बढ्ने देखियो । कमसेकम परिक्षण गरेर हामीलाई निर्धक्क बनाउन कसैको चासो पनि देखिएन । सर्बधारणलाई एक पटक परिक्षण गर्दा प्रशासनको के जान्छ ? संक्रमण नभए त ठिक छ तर संक्रमण भएको भए जिम्मेवारी कस्को ? आक्रोशित निराले भनिन् । २ दिदि बहिनी अहिले आफै क्वारेन्टाईन बनाएर बसेका छन् । तर विरामी बहिनीको ज्वरो अझै घटेको छैन ।यो त एउटा प्रतिनिधि घटना मात्रै हो, बुधबार राती पनि मेघौलीका एक दम्पती यसै गरि भरतपुर क्षेत्रमा रातभरी नै भौंतारिएका थिए ।

कसैले उपचार नगरेपछि पिडित दम्पती भरतपुर देखि पैदल यात्रा गरेर आफ्नो घर पुगेको समाचार हामीले नै सार्वजनिक गरेका थियौं । कति घटना सञ्चार माध्यममा आउछन् त कति दबिएका छन् । अस्पतालसम्म पुग्नेहरुले नै उपचार पाएका छैनन भने गाउँ घरमै समस्या झेलिरहेकाहरु के गर्दै होलान् ? मेडिकल सिटिको ट्याग भिरेको भरतपुरको अवस्था त यस्तो छ भने अन्यत्रको अवस्था के होला ? जवाफ कस्ले दिने, जिम्मेवारी कस्को ? यक्ष प्रश्न खडा भएको छ ।कालिका एफएम को सहयोगमा